गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्ण मा.वि. किसिगालमा बहुआयामिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। गृहिणी महिला संघको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा आँखा, दाँत तथा महिला स्वास्थ्य – पाठेघरकाे मुख तथा स्तन क्यान्सर सम्बन्धी जाँच सेवा एकै स्थानबाट प्रदान गरिएको थियो।

आँखा परीक्षण तिलगंगा सिटी अस्पताल, चुच्चेपाटी–चाबहिलको प्राविधिक सहकार्यमा गरिएको थियो, जहाँ दृष्टिदोष, आँखासम्बन्धी संक्रमण, मोतियाबिन्दुको प्रारम्भिक लक्षण लगायतका समस्याको जाँच गरी आवश्यक परामर्श तथा थप उपचारका लागि रेफर सेवा समेत दिइएको थियो। त्यस्तै दन्त परीक्षण हिमाल डेन्टल, जोरपाटी काठमाडौंको सहयोगमा सञ्चालन गरिएको थियो, जसमा दाँत सफाइ, क्याभिटी, गिजा समस्या, मुख स्वास्थ्यसम्बन्धी रोगको जाँच तथा सरसफाइ सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरिएको थियो।

शिविरमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो, विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाले सेवा लिएका थिए। स्वास्थ्यकर्मीहरूले दैनिक जीवनशैली, सरसफाइ, पोषण र नियमित स्वास्थ्य परीक्षणले धेरै रोगबाट बच्न सकिने भन्दै समुदायलाई सचेत गराएका थिए। साथै, प्रारम्भिक चरणमै रोग पहिचान हुँदा उपचार सहज, सस्तो र प्रभावकारी हुने भएकाले नियमित जाँचलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। प्रतिनिधिहरूले यस्ता स्वास्थ्य शिविरहरूले समुदायस्तरमै प्रभावकारी सेवा पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्ता पहलहरूले स्वास्थ्य सेवा पहुँचलाई नजिक ल्याउनुका साथै समुदायमा दीर्घकालीन स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *