काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित ट्रान्क्विल शान्ति पाठशालामा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।
युवा जागरण अभियान समूह र ट्रान्क्विल शान्ति पाठशालाको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र ओम चाबहिल डेन्टल अस्पताल प्रा.लि.को प्राविधिक सहयोग रहेको थियो। २०८२ चैत २७ गते आयोजित शिविरमा आँखासम्बन्धी विस्तृत परीक्षण, दन्त स्वास्थ्य जाँच, मुख तथा दाँत सरसफाइ परामर्श, साथै आवश्यक औषधि वितरण सेवा प्रदान गरिएको थियो।

शिविरमा ५०० भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका आयोजकले जनाएका छन्। परीक्षणका क्रममा मोतियाबिन्दु (क्याटर्याक्ट) पहिचान भएका बिरामीहरूलाई तिलगंगा आँखा प्रतिष्ठानमार्फत निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने व्यवस्था गरिएको थियो। साथै, जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको जनाइएको छ।

स्थानीय समुदायलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरले आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न, समयमै रोग पहिचान गर्न तथा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ छ। आयोजकले आगामी दिनमा पनि यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।





