श्री कान्ति भैरवनाथ धिमे खलाको आयोजनामा “ खुल्ला धिमे बाजा प्रतियोगिता २०८२” भव्य रूपमा सम्पन्न भएको हो। गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरबाहिनी मन्दिर परिसरमा आज सम्पन्न प्रतियोगितामा १४ धिमे बाजा समुहले प्रतिस्पर्धात्मक सहभागिता जनाएका थिए।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रममा परम्परागत नेवारी धिमे बाजाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको महत्वबारे चेतना फैलाउने उद्देश्य राखिएको थियो। प्रतियोगितामा विभिन्न स्थानबाट आएका टिमहरूले मौलिक ताल, लय र प्रस्तुति मार्फत दर्शकको मन जितेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सांस्कृतिककर्मीहरूको उपस्थिति रहेको थियो भने दर्शकहरूको उल्लेख्य भीडले कार्यक्रमलाई अझ उत्साहजनक बनाएको थियो।

प्रतियोगिताको नतिजाअनुसार चन्द्रागिरीको श्री नास भैरव धिमे खला प्रथम भई ५० हजार नगदसहित विभिन्न धिमे बाजा सामग्री प्राप्त गर्न सफल भयो। त्यसैगरी ताथली धिमे खला दोस्रो भई २५ हजार र सन स्टार क्लब तेस्रो भई १५ हजार नगदसहित पुरस्कृत भएका छन्।

यसैगरी अतिरिक्त पुरस्कारस्वरूप प्रथम टिमले ‘मामाघर होमस्टे’ (गोकर्णेश्वर–४) को प्रायोजनमा ५ जनाका लागि एक रात बसाइका साथै डिनर सहितको प्याकेज प्राप्त गरेको छ भने दोस्रो र तेस्रो टिमले जनही १५०० रुपैयाँ बराबरको फुड कुपन प्राप्त गरेका छन्।

आयोजकले यस्ता प्रतियोगिताले हराउँदै गएको परम्परागत बाजागाजालाई संरक्षण गर्न सहयोग पुग्ने र युवापुस्तामा सांस्कृतिक पहिचानप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरेका छन्। साथै आगामी दिनमा अझ व्यवस्थित र बृहत्तर रूपमा कार्यक्रम आयोजना गर्ने योजना रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *