नेवारी संस्कृति जगेर्ना गर्न गोकर्णेश्वरमा विशेष कार्यक्रम
नेवारी संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेवा देय् दबु गोकर्णेश्वर नगर समितिले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाल सम्बत ११४६ को चौलाथ्व दशमी (चैत १४) का दिन गोकर्णेश्वर–४ स्थित ऐतिहासिक देशेमा कार्यक्रम हुने आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय मौलिक बाजागाजा, धिमे, नायखिं लगायतका परम्परागत बाजाको प्रस्तुति, सांस्कृतिक नृत्य तथा विभिन्न जात्रा झल्किने प्रस्तुति रहनेछन्। साथै नेवारी परिकारका विभिन्न स्टलमार्फत परम्परागत खानाको स्वाद लिन पाइनेछ।
आयोजकका अनुसार कार्यक्रममा स्थानीय कलाकार, संस्कृति प्रेमी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। नेवारी परिकार प्रदर्शन तथा बिक्रीका लागि स्टल बुकिङ खुला गरिएको भन्दै इच्छुकलाई समयमै सम्पर्क गर्न आग्रह गरिएको छ। साथै कार्यक्रममार्फत स्थानीय संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।
